काठमाडौं। वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गर्ने निर्णय गरिएको विभागले जनाएको छ । यसअन्तर्गत अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भई लिइने पुनः श्रम स्वीकृति परेका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सरकारले जारी गरेको २९ गतेसम्मको निषेधाज्ञा अवधिभर विभाग माताहतका कार्यालयमा भौतिक रूपमा उपस्थिति भएर दिइने सेवा स्थगन गरिएको जानकारी दिनुभयो ।

सरकारले दोस्रो चरणको कोभिड-१९ सङ्क्रमणको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण यो अवधिमा अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । विभागको निर्देशनअनुसार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रूपमा उपस्थित भई लिइने सेवा वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाइएको छ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भौतिक रूपमा उपस्थितबाहेक अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्नेजस्ता कार्य सीमित सेवा प्रवाहका रूपमा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ । गोरखापत्र