काठमाडौं । सरकारको निणर्य बमोजिम आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदैछ । टीआईए बन्द गर्ने भनिएसँगै यात्रु र उडान संख्या अत्यधिक बढेको छ । यो दुई दिन बुधबार र बिहीबार मात्र १ सय ७ वटा फ्लाइट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) बाट भएका छन् । यो संख्या कोरोनाको पहिलो लहरपछिको सबैभन्दा धेरै भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीका अनुसार आज राती १२ बजेसम्ममा २५ वटा विमान टीआईएमा आगमन हुने छन् भने २६ वटा विमान नेपालबाट अन्य मुलुकका लागि प्रस्थान गरेका छन् । जसमा नेपाल एयरलाइन्सको एउटा विमान जापान गएको छ र त्यो भोली नेपाल फर्किने छ ।

 

बिहीबारको भन्दा चार वटा बढी उडान बुधबार भएका छन् । बुधबार ५६ वटा फ्लाइट भएकामा २८ वटा जहाज अन्य मुलुक प्रस्थान गरेका थिए भने २८ ओटा नै नेपाल भित्रिएका थिए । जसमा २ हजार १९१ यात्रु अन्तराष्ट्रिय उडानबाट नेपाल आएका थिए भने ३ हजार ७०३ जना नेपालबाट बाहिर गएका थिए । यसमा १३ वटा चाटर्ड उडान थिए भने अन्य उडान सेड्यूल फ्लाइट भएको प्रवक्त क्षेत्रीले जानकारी दिएका छन् ।देशमा कोरोना भाइरसका संक्रमित संख्या बढेसँगै एक हप्ता अघि सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानमा रोक लगाउने निणर्य गरेको थियो ।