काठमाडौं। रेम्डेशिविर इन्जेक्सनको कालोबजारी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई ६ थान रेम्डेशिविर इन्जेक्सन सहित महानगरीय अपराध महाशाखा, मिनभबनको प्रहरी टोलीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखा, मिनभबनको प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भई रहेको जनाएको छ। निजले महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएकोमा हाल निज दिपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको प्रहरीले जनाएको छ।
उक्त इन्जेक्सन बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागी तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको छ। उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ।
रेम्डेशिविर ६ थानको मूल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गर्दै औषधी सहित बसुन्धरामा बिक्री वितरण गर्न आएका बेला प्रहरीले पक्राउ गरेको हो।

