काठमाडौं। कोभिड १९ सङ्क्रमण बढिरहेको  र त्यसबाट केहि सङ्क्रमितहरूको मृत्यु भएको संवेदनशिल अवस्थामा आमसञ्चार माध्यम संवेदनशील हुनुपर्ने र प्रकाशन/प्रसारण गर्ने समाग्रीहरूको बारेमा सजगता अपनाउनु पर्नेमा सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएकाहरूको दाहसंस्कारका क्रममा केही सञ्चारमाध्यमहरूले उनीहरूको पहिचान खुल्ने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार पोष्ट भएको घटनाप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाएको छ। 

मङ्गलबार काउन्सिलले एक अपिल जारी गर्दै यस्ता घटना पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन २०७६) र कोभिडको सम्बन्धमा २०७६ चैत्र १० गते जारी निर्देशिका बमोजिम उलङ्घन भएको जनाएको छ, त्यस्ता सञ्चारमाध्यमलाई उक्त सामग्रीहरू आफ्नो व्यक्तिगत समाजिक सञ्जालमा समेत राखेको पाईएकोले त्यस्ता गतिविधि नगर्न अपिल गरेको छ। 

सञ्चारमाध्यमबाट हुने त्यस्ता गतिविधिले सङ्क्रमित बिरामीको आत्मबलमा असर पर्ने र क्षती हुन सक्ने भन्दै संवेदनशील घडीमा जिम्मेवार र सजग भई उच्च सावधानी अपनाउन सञ्चारमाध्यम, सञ्चाकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अपिल गरेको छ।