काठमाडौं । राजकीय सम्मानका साथ कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको अन्तेष्टि गरिएको छ । काठमाडौंको टेकु स्थित बुधबार शेर्पाको बौद्ध धर्म परम्पराअनुसार अन्त्येष्टी गरिएको हो ।

शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

उनको सोमबार कपन स्थित निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । विश्वभर 'हिउँचितुवा' उपनाम कहलिएका शेर्पाले सगरमाथा १० पटक बिना अक्सिजन सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । 

हाल सम्म उनको यो कीर्तिमानलाई कसैले पनि तोड्न सकेका छैनन् ।  उनको जन्म २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा भएको थियो ।