इलाम। इलाम जिल्लास्थित पर्यटकिय केन्द्र सूर्योदय नगरपालिकाले व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरेको छ। नगरले सोमबार देखि वडा नं. १, १३ र १४ को विभिन्न छ वटा स्थानहरूबाट व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरेको हो।

व्यक्तिगत घटना दर्ता शिविरमा जन्मदर्ता, मृत्यु दर्ता, बसाइसराई, बिबाह दर्ता, सम्बन्ध विच्छेद लगायतको सेवा प्रदान गरिने नगर प्रमुख रण बहादुर राईले जनाउनु भएको छ। सोमबारबाट सञ्चालन भएको शिविर मङ्गलबार थप वडा नं. २ र ३ बाट पनि शुरु हुने नगर प्रमुख राईले बताउनु भयो।

शिविर वडा नं. १ को सिंहदेवी मा.वि. मंगलबारे र गोर्खे बजारमा, वडा नं १३ को खानीभञ्ज्याङ खोप केन्द्र र पोखरी बजार तथा वडा नं. १४ को शारदा आधारभुत विद्यालय, थापा चोक र जिमीखाँदमा सञ्चालन भइरहेको छ।