काठमाडौं। श्रमिकले साउन १ गतेदेखि मासिक १५ हजार रुपैयाँ तलब पाउने भएका छन्। चिया बगानमा काम गर्नेबाहेकका श्रमिकका लागि नयाँ न्युनतम पारिश्रमिक निर्धारण गरिएको हो। नयाँ न्युनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभुत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ।

यस हिसाबले  एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ। दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभुत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ। एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभुत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ।

यसअघि अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याइने घोषणा गरेका थिए। श्रम मन्त्रालयले नयाँ न्युनतम पारिश्रमिकबारे सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।