तिन दिवसीय छैटौं नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव मंगलबार सम्पन्न भएको छ । आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तीन दिवसीय ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी उत्कृष्ट चलचित्र, कलाकार, निर्देशक तथा प्राविधिक सहित विभिन्न ११ विद्यामा अवार्ड वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ का लेखक विवेक गुरुङ, उत्कृष्ट चलचित्र निर्देशक लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र ‘दिलसरा’का अभिनेता कल्याण रानामगर तथा उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठलाई प्रदान गरिएको थियो ।  

त्यसै गरि उत्कृष्ट छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्याम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको चलचित्र महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभयो । 

काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा यही जेठ १७ मा सुरु भएको महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तक्र्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका खानाका स्टल राखिएका थिए ।

महोत्सवमा लिम्बू, नेवार, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघुचलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो । महोत्सवले आदिवासी जनजाति चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियान्ताबीच नयाँ संवाद, सहकार्य तथा वैकल्पिक सिनेम्याटिक विमर्शका लागि महत्वपूर्ण आधार तय गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिहरूको भाषा, इतिहास, भूमि, पूर्वजहरूको स्मृति र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोलेको निर्देशक केरुङले बताए । “आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र नभई सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रूपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो, “हाल विश्व मानव सभ्यताको गम्भीर ज्ञान सङ्कटको मोडमा उभिएको छ । 

महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, प्रतिनिधित्व, भाषिक पुनःजागरण, ज्ञान–उपनिवेशवाद विरुद्धको प्रतिरोध तथा स्वतन्त्रताको अन्तराष्ट्रिय सिनेम्याटिक आन्दोलन पनि हो ।” नेपालमा आदिवासी जनजातिसँग सम्बन्धित सयौं चलचित्र, लघुचलचित्र तथा वृत्तचित्रहरू निर्माण गरेर प्रदर्शन भइसकेको जनाइएको छ । 
आदिबासी जनजाति चलचित्र महासंघ संघीय परिषद सचिवालयका कार्यबाहक अध्यक्ष भुईसाल लामाको अध्यक्षतामा सम्पन्न महोत्सव कार्यक्रममा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, राम मादेन, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय उपाध्यक्ष तथा चलचित्र महासंघका प्रमुख सल्लाहकार  अमृत बहादुर सुनुवार, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुव्वा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक, पत्रकार एवं नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षेत्री लगायतका अतिथीले समापन कार्यक्रम मन्तव्य राखेका थिए । 
कार्यक्रम महासंघका महासचिव होम कुमारी माझी (सजिका) ले संचालन गरेकी थिएन । समापन कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनी राखिएको थियो । तिन दिने महोत्सवमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिबासी जनजाति महासंघ लगायत बिभिन्न संस्था तथा निकायहरुको सहकार्यता रहेको आयोजकले जनाएको छ । महोत्सव भव्यरुपमा सफल भएको सहभागीहरुले बताएका छन ।