चन्द्रमाले पर्दा खोल्छ यही अँधेरीमा ।।
तिम्रो यादले पिरोल्छ यही अँधेरीमा ।।

तिम्रो आकार खोज्छु आकाशमा हेरी,
बादल आई बिथोल्छ यही अँधेरीमा ।।

एकान्तमा टोलाउँछु कल्पिएर तिमीलाई,
सम्झनाले छाती पोल्छ यही अँधेरीमा ।।

चिम्लिएर देखुँ भन्छु हरबखत वरिपरी,
आँसुले परेली छिचोल्छ यही अँधेरीमा ।।

ब्युँझिएर मध्ये रातमा बर्बराउँदै एकोहोरो,
यो मनले के-के बोल्छ यही अँधेरीमा ।।