जननेता मदन कुमार भण्डारीको जन्म वि.सं. २००९ साल असार १४ गते, ताप्लेजुङ जिल्लाको ढुंङ्गेसाँघु गाउँमा भएको थियो । उहाँ नेपाली राजनीतिका एक दूरदर्शी विचारक र दिशा निर्धारण गर्ने सिद्धान्तकारका रूपमा स्थापित हुनु भएको छ ।


उहाँद्वारा प्रतिपादित “जनताको बहुदलीय जनवाद” (ज.ब.ज.) सिद्धान्तले नेपाली कम्युनिस्ट आन्दोलनलाई आधुनिक राजनीतिक धारामा अभिमुख गराउँदै महत्वपूर्ण मोड प्रदान गरेको थियो । आज देशभर उहाँको जन्मजयन्ति श्रद्धापूर्वक मनाइँदैछ । उहाँका विचारहरू आज पनि सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शकको रुपमा छन ।


उहाँको विचारमा, नेपाली समाज वर्गीय, जातीय र क्षेत्रीय विभाजनबाट प्रभावित थियो । सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको हस्तक्षेपले नेपाली जनताको अधिकार कुण्ठित गरिरहेको थियो । यसको समाधानका लागि समानता, समावेशिता र सामाजिक न्याय सुनिश्चित गर्दै शिक्षा, रोजगार र जनजीविकाको सुदृढीकरण आवश्यक ठान्नुभयो ।

राष्ट्रियता र लोकतन्त्रमा आधारित समाजवाद उन्मुख समाज निर्माण गर्ने उहाँको दृष्टिकोण आज पनि नेपाली राजनीतिक मार्गचित्रका रूपमा स्थापित छ । उहाँले देखाएको बाटोले समावेशी, स्वतन्त्र र जनमुखी समाज निर्माणको दिशामा सशक्त प्रेरणा दिएको छ ।


जनताको बहुदलीय जनवादका मुख्य विशेषताहरू
 १. लोकतान्त्रिक प्रणालीमार्फत समाजवादमा पुग्ने लक्ष्य निर्धारण ।
 २. बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको स्वीकृति – स्वतन्त्र जनमतद्वारा सत्ता हस्तान्तरण ।
 ३. आम निर्वाचन, बहुमत–अल्पमतको सम्मान र जनमत ,अभिव्यक्ति स्वतन्त्रताको      प्रत्याभूति।
 ४. राजनीतिक शक्तिबीच संवाद र शान्तिपूर्ण प्रतिस्पर्धाको परिकल्पना ।
 ५. राष्ट्रियता, लोकतन्त्र र जनजीविकालाई प्रमुख आधार मूल्यको रूपमा अंगीकार ।
 ६. सत्ता कब्जाको सट्टा अभिमत बाट जनसेवामूलक शासन प्रणालीको अभ्यास ।
 ७. चरणबद्ध तथा लोकतान्त्रिक प्रक्रियाबाट समाज परिवर्तनको दिशा ।
 ८. दीर्घकालीन रूपमा साम्यवादको लक्ष्य राख्दै समाजवादतर्फको मार्गचित्र ।
 ९. जनउत्तरदायी, जवाफदेही र लोकतान्त्रिक पद्धतिमा आधारित पार्टी संचालन ।
 १०. संविधानको सर्वोच्चता, शक्ति पृथिविकरणको सिद्दान्त , मानव अधिकारको संरक्षण रक्षा , बहुलवाद, आवधिक निर्वाचन, कानूनको शासन र जनसहभागितामा आधारित शासन प्रणाली ।


जननेता मदन कुमार भण्डारीले नेपाली समाज रूपान्तरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, उद्यमशीलता र वैदेशिक नीति लगायतका क्षेत्रहरूमा नीति निर्माण र कार्यान्वयनका स्पष्ट दिशा निर्देश दिएका छन । २०४९ माघ १४ देखि २० सम्म रहेको पाचौ महाधिवेशन बाट जवजको निति सिद्दान्त कार्यक्रम प्रस्तुत गरिएको थियो ।


उहाँको निधन वि.सं. २०५० साल जेठ ३ गते, चितवनको दासढुङ्गामा एक रहस्यमय । षड्यन्त्र मुलक सवारी दुर्घटनामा भएको थियो । उक्त घटनाले सम्पूर्ण नेपाली राजनीतिमा स्तब्धता र गहिरो शोक मा मुलुक ,जनता र सिंहो पार्टीलाइ अतुलनीय क्षति पुग्यो । आजको मिति सम्मपनि घटनाको दोसि पत्तालगाइ सार्वजनिक हुन नसक्नु दुखद बिषय बनेको छ ।