सिन्धुलीमाढी। सिन्धुलीमाढीस्थित कमलामाई नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। मङ्गलबार नगर प्रमुख खड्ग खत्रीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षण संस्था बन्द गरी भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो।

विश्वभरी फैलिदै गइरहेकाे नयाँ भेरियन्टकाे काेभिड-१९ महामारी नेपालमा समेत फैलिएकाे सन्दर्भमा काेभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडाैंकाे प.स.५०९/CCMC-MGMT/ कार्य १/०७७/०७८/२४५, मिति २०७८/०१/१२ गतेकाे प्रेस विज्ञप्ती, मिति २०७८/०१/१३ गतेकाे मन्त्रिपरिषदकाे निर्णय तथा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीकाे च.न.४२८९ मिति २०७८/०१/१३ काे निर्णय कार्यान्वयन गराउने विज्ञप्ती अनुसार क.न.पा भित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक शिक्षालयमा भाैतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन-पाठन गराउने निर्णय गरेको छ।

नगरले भाैतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु कार्यक्रमहरू र पठनपाठनहरु अर्काे सूचना जारी नभएसम्मका लागी स्थगित गरी विद्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको नगरका सूचना अधिकारी निर्मल लामाले बताएका छन् ।