खुट्टा उचालेर चढ्छ धुरी धुरी
हेर बाबु हेर, हाम्रो घरको सुरी!
ठ्याक्कै बाघका जस्ता लगाएर लुगा
सातो लिन खोज्छ ठड्याएर जुँगा
जिउ मर्काएर गर्छ चुरीफुरी
हेर नानी हेर, हाम्रो घरको सुरी!
मुसा खाने दाउमा भँडारतिर ढुक्छ
कुकुर देख्नै हुन्न कुना खोज्दै लुक्छ
डरै नमानेर हेर्छ घुरी घुरी
हेर भाइ हेर, हाम्रो घरको सुरी!
बसी बसी खाने लोभी, अल्छी, लाछी
कराई चाट्न खोज्ने यै हो दूधको साक्षी
लाजै पचाएर बस्छ भान्छा कुरी
हेर बैनी हेर, हाम्रो घरको सुरी!
– रमेशचन्द्र घिमिरे,भोर्लेटार, लमजुङ