काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले सिराह-उदयपुर-ओखलढुंगा-खोटाङ-सोलुखुम्बु जोड्ने सिद्धिचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्डलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। बिहीबार त्यसक्षेत्रका जनप्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्बाङ्ले सडकको स्तरउन्नतीमा सरकारले पर्याप्त ध्यान दिएको बताएका हुन्।
सिद्धिचरण राजमार्गको कटारी-घुर्मी सडकखण्ड जिर्ण अवस्थामा रहेको लामो समय हुँदा पनि सरकारी पक्षले ध्यान नदिएको कारण गत बैशाख ६ गते देखि कटारी-घुर्मी सडकखण्ड स्तरोन्नति संघर्ष समिति गठन नै गरेर अनिश्चित कालका लागि सडक बन्दको आह्वान गरिएको थियो ।
सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म ४६ कि.मी. सडक लामो समयदेखि जीर्ण अवस्थामा छ। यस सडकखण्डमा यात्रा गर्ने यात्रु तथा स्थानीयहरू जिर्ण सडकका कारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् भने वर्षा याममा हिलो र हिउँदमा धुलो आजित हुँदै आएका छन्।
यसैक्रममा त्यस क्षेत्रका जनप्रतिनिधि र स्थानीय तहका प्रमुखहरू मिलेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबारमै पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्बाङ्गले मिर्चैया-कटारी-घुर्मी सल्लेरीदेखि लुक्लासम्म जोड्ने यस सडक निर्माणमा संघीय सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

