आमा !
ममता नियाल्ने नयनभरी
आँसुका भेल नउर्लाउनु
परदेशी छोराको सम्झनामा ।

हो ! आमा,
तिम्रो ममता जिउँदो रहेसम्म
तिम्रो नेप्टे छोरा – दुर देशमा पनि सुरक्षित रहनेछ ।
तिम्रै ममतालाई छिचोलेर
मलाई ढाल्ने उडाउने
न त गोली नै बनेको छ
न त बम बारुद नै ।

तिम्रै ममताको कवज ओढेर
श्रमसँग धावा बोल्दैछु
कंक्रिटे जंगलको एक्काइसौं तल्लामा
संगीन पहरा दिन
घामले पाईला नटेक्दै पुग्छु
र…
फर्कन्छु – घामले डाँडा काटेपछि ।
यस्तै–यस्तै दैनिकीमा
हिजो–आज
देख्ने गरेको छु – मेरो सुन्दर भोलि ।

हो ! आमा,
जित मैरै हुनेछ
मैले नै जित्नेछु ।

म मुग्लान छिर्ने खर्चको बदलामा
मुखिया बाको सन्दुक भित्र
कैदी बन्न पुगेको
निखन्नु छ – पुर्खाको चिनो
छाउनु छ – चुहिने छानो
जोर्नु छ – केही थान खुशीहरु
चाउँरीदै गएको तिम्रो मुहारमा
ल्याउनु छ – फेरी चमक
मेरो पौरखको लाली घसेर ।

कैयन उधौली–उभौलीहरु
सालिन्दा आउने पर्वहरु
मेरो अनुपस्थितिमा
निरस–निरस बने होलान् ।
तर आमा,
अब त्यस्तो हुने छैन ।
म घर आउनेछु आमा
पैयूँ फूलेर
लालीगुराँस रंगिएर
एक ढाकर हर्षोल्लास बोकेर ।