औषधी व्यवस्था विभागले मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने चार कम्पनीको स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध लगाएको छ । जसमा दुई नेपाली र दुई विदेशी कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भेटिएपछि बिक्री नगर्न आदेश दिएको जनाएको छ ।
मानव स्वास्थ्यमा गम्भिर असर पर्ने खालका स्यानिटाइजर उत्पादन गर्ने चीन, भारत, काठमाडौँ र ललितपुरस्थित रहेका ति उद्योगहरुले स्यानिटाइजरमा मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ । जसले मानव स्वास्थ्य मा गम्भिर असर पर्ने जनाएको छ ।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एम.एल.को स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो । यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एम.एल.को ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ ।
ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एम.एल.को ह्यान्ड स्यानिटाइजरमा ३९.३४ प्रतिशत मिथानोल र १३.३८ प्रतिशत इथानोल रहेको पाइएको छ । श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्रीले काठमाडौँले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशत भेटिएको जनाएको छ ।
विभागले ती चार कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा समेत रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।

