काठमाडौं। रूरू जलविद्युत परियोजना कम्पनीको साधारण शेयर बाँडफाँडभएको छ। कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन भएको शेयर शुक्रबार (आज) बाँडफाँड गरेको हो । 

आवेदकमध्ये ३७ हजार ९ सय ९ जनालेगोला प्रथाबाट १० कित्ता शेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार थप ७ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्। मागभन्दा ६२ गुणाबढी आवेदन परेकाले २ प्रतिशतलेमात्र शेयर पाएका छन्।

कम्पनीको शेयर किन्न १६ लाख ६९ हजार ५ सय ६६ जनाले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका थिए। कम्पनीले चैत २० गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँ मूल्यमा शेयर निष्कासन गरेको थियो।

४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ६ कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। निष्कासन भएको शेयरमध्ये ८ हजार १ सय ५४ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीका लागि, २० हजार ३ सय ८५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी ३ लाख ७८ हजार १ सय ६७ कित्ता शेयरका लागि सर्वसाधारणका लागि छुट्टाइएको थियो।

कम्पनीले यस अघि स्थानीयका लागि छुट्याएको ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। स्थानीयका लागि भने प्रतिकित्ता सय रुपैयाँमा नै शेयर निष्कासन गरिएको थियो।