नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले आजदेखि तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदैआएका छन् ।
विशेष पर्वका रुपमा मनाउँदै आएको यस सिरुवाअन्तर्गत आज नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ । २ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एकआपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिकरुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउनुहुन्छ ।
उहाँका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते खाने प्रचलन छ । अन्य मीठा-मीठा परिकारसमेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पुजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान गरिने उहाँले बताउनुभयो ।
सिरूवा विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै आदिवासी सामुदायको परम्परागतगत ढोलसना नाच, नटुवा नाच, घाटोसरी गीत र आधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिआएको पाइन्छ । सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रम रहेको छ । पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिकरुपमा खेल्ने गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने चलन रहेको छ ।
नयाँ वर्ष आउनु चार–पाँच दिन पहिलेदेखि एउटा शुद्ध भाँडोमा साजीको मूर्ति राखेर घरघरमा मागी हिँड्ने (भादाखेली) अनि बङ्गला पात्रोअनुसार वैशाख १ गतेका दिन नदीमा पूजा गरी सेलाउने चलन छ । यो साजी देउताको पूजा महिलाले मात्र गर्ने चलन छ । सिरुवाको दिनादेखि झापाको कमल–६ स्थित जिम्दार चोकको मन्दिर, मोरङको रतुवामाई नगरपालिकाको सुनवर्षीलगायतका आदिवासी बाहुल बस्तीमा परम्परागत सांस्कृतिक मेला लाग्दै आएका छन् ।