ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको हो । 
शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै पाठ्यपुस्तक जिल्लामा आएपछि वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।

तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार थान पाठ्यपुस्तक आएसँगै वितरण सुरु गरिएको महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली माध्यमका प्रतिकक्षा एक हजार पाँच सयका दरले १५ हजार थान, कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमका तीन हजार पाँच सय थान र लिम्बू भाषाको पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार पाँच सय थन छन् ।

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पु¥याउने गरी जिल्लामा पुस्तक ल्याइएको सङ्घका सदस्य दिनेश भट्टराईले बताउनुभयो । “यस वर्ष सबै कक्षाका पुस्तकमा कुनै पनि विषय छुट्टाएका छैनौँ । विद्यार्थीलाई एक थानमा हुने सबै पुस्तक एबैपटक उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो ।

महासंघले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ल्याएको हो । ताप्लेजुङमा तीन सय ३० सामुदायिक विद्यालय रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ६१ विद्यालय माध्यमिक तहका छन् ।