‘राधे, ओइ राधे, ढोका खोल् न ।’
कता–कता चिनेको जस्तो नारीस्वर ढोकाको चेपबाट छि¥यो । मैले केही सम्झन नपाई फेरि आवाज आयो । ‘म सीता के !’
‘के भयो यति राति ?’ हतारिएर ढोकासम्म पुगेर ढोका खोलेँ । पछाडि बोक्ने ब्याग र पर्स झुन्ड्याउँदै भित्र छिरी ।
केही उत्तर नि दिइन । सरासर मेरो खाटैमा गएर बसी । ‘ओइ सीते ! के भयो, भन् त ?’ ढोका लगाउँदै सोधेँ, ‘यति राति कहाँ हिँडेकी ? होसमा त छेस् ? सब ठीक त छ नि ?’
ढुङ्गो बोल्ला, सीते बोलिन । अलि–अलि पसिना, डर मिसिएको, लामो लामो सास फेरेकी छ, बस । ‘पानी खान्छेस् ?’ टेबलको गिलास उठाउँदै सोधेँ । हातबाट झट्कारेर पानी खोसी घटघट पिई । अनि बोली– उम् । बल्ल बोली फुट्यो उम्सम्म भनी । ‘के भयो ? कहाँ हिँडेकी यति राति ?’ भित्ताको घडी हेरेँ– १० बज्न लागेको छ ।
निकै बेरपछि अनकनाउँदै बोली, ‘हिँडेको म त ।’ ‘यति राति कहाँ हि“डेको, दिउँसो जान सकिनस् ?’ ‘घर छोडेर हिँडेको म त । कसरी दिउँसो जानु ?’ ‘के भनेकी सीते, तैँले ?’ ‘हो नि, कसैलाई नभन् है । तँ त मेरो मन मिल्ने साथी भएर पो भनेको, तँलाई केही नभनी जानै सकिनँ । तँ नै त थिइस् सुखदुःखको साथी । मनै मानेन, नभेटी जान त ।’ ‘कहाँ जान्छेस् यति राति ? बसेर जा बिहान ।’ हिम्मत देखाउँदै बोली, ‘सारा दुनियाँ आनै त हो । घरमा पो कोही छैन ।’
‘के भनेको, छोरो छ, आमा हुनुहुन्छ, बुढा छन् । तँलाई अब के पुगेन ? स्कुल जाने छोरो, माया गर्ने आमा, बुढाले पैसा पठाइदिएकै छन् । अनि के चाहियो ?’
जीवनलाई राम्ररी नियालेकी हुँदी हो । जीवनको परिस्थिति गम्भीर ढङ्गले बुझेकी होली, गम्भीर बनेर उत्तर दिई, ‘सबै थोक छ । राधे, तर जीवन पलपल गुजार्ने साथ चाहियो । तेरा र मेरा बाउले मदन बन्ने आँट गरेनन् । ल्हासा जाने हिम्मत गरेनन्, सुनमा सपना बुनेनन्, आमाहरुले कति सुखी जीवन बिताए । तँ आफैँ भन् न ?’
कुरा कता–कता जोडी सीतेले । साँच्चै जस्तो पनि । फकाउने तरिकाले कुरा जोडेँ, ‘के दुःख छ र तँलाई, भन् त ? बुढा नि आउन लागेका छन्, एक–डेढ साल बाँकी होला । छोरो आफैँ स्कुल जाने–आउने गर्छ । सासू–बुहारी आँगन–करेसा हिँड्दाहिँड्दै दिन बित्छ । के भयो यस्तो ? कि बुढाले माया गर्न छाड्यो ? अस्तिसम्म त खुबै तारिफ गर्थिस् त ?’
‘हो नि राधे, सबैले देख्ने कुरा नै यही हो । सत्य पनि यही हो । बुढाले ५०–५५ हजार महिनैपिच्छे पठाउँछ । छोरो बोर्डिङ पठाउँछु । आमासँग कुरा गर्दै काम गर्छु । दिन बितिहाल्छ । रमाइला छन् नि दिनहरु । रात पर्छ । खाना पकायो, खुवायो, खायो अनि सुत्यो । लामो रात कटाउन सुरू गर्छु । निद्रा पर्दैन । उसले हरेक रात कल गर्छ । सबै कुरा खोजिनिती गर्छ । म सबै बुझाइदिन्छु, एकाउन्टेन्टझैँ । कुरैकुरामा ऊ रोमान्टिक बनिदिन्छ । म पनि बनिदिन्छु । ऊ भिडियो कल गर्दै ट्वाइलेटमा भुइँभरि सेताम्मे पार्दै माया पोखिदिन्छ, मेरो नाममा । ऊ पनि खुस, म पनि खुस । के यही हो र माया ? यही मायाले बाँचिन्छ र, राधे ?’
‘दुःख केही छैन, राधे । बैङ्कमा ८–१० लाख छ । मायालाग्दो छोरो छ । आँखामा राख्दा नबिझाउने सासू छिन् । चार–पाँच रोपनी जग्गा छ । त्यहीँबाट खान–लाउन पुग्छ । अरु के चाहियो र ?
तर, होइन राधे, धेरै कुरा चाहिँदो रहेछ, जीवन चलाउन । तँलाई पनि त थाहा छ । तँ पनि त कसैकी स्वास्नी होस् । तेरा बुढा टिचर छन् । सबै कुरा बुझ्छन् । छोरो साथमा राखेर पढाउँछन् । हरेक शुक्रबार छोरासँग घर आउँछन्, शनिबार साथ बिताउँछन् । आइतबार फेरि फर्कन्छन् । तँ हरेक दिन हेल्थपोस्ट जान्छेस् । आउने बिरामी चोकजाँच गर्छेस् । मायाले सम्झाउँछेस् । जिन्दगी यस्तै सहज चलिरहन्छ नि, तर तेरो मात्रै । जब म कल गर्छु नि, ऊ बिजी हुन्छ । गलेको हुन्छ कि साथीहरुसँग हुन्छ । म पनि मायाप्रेमका दुःख–सुख साट्न चाहन्छु । अरुसँग ऊ बोसको जिम्मेवारी पूरा गर्दै हुन्छ । के मैले भनेकी हो र ? मेरो जीवन, जवानी छोएबापत उति नै दुःख गरेर पैसा कमाऊ, हररातको पैसा देऊ ? होइन, मैले कहिल्यै भनिनँ– प्रेममय दिनहरु बिछोडमा बिताऔँ भनेर । ऊ आफैँ तम्सेको हो, अरुको देखासिकी गर्दै । मैले गाउँतिरै अघि हात समातेर हिँड, मायाले एक–अर्काको साथले बाँच्नुपर्छ भन्दा बाइकको पछि राखेर गाउँ र गाउँलेको अघिबाट एकपलमा हराउनुपर्छ, धुलो मात्र देखून् भन्ने ऊ नै त हो ।’
आक्रोश पोखी उसले, धाराप्रवाह । मलाई प्रवचन सुनाइरही जीवनको, भोगाइको, अनुभवको । समग्रमा, उसले बाँचिरहेको दिन–रातको ।
ऊ भन्दै गई, ‘तँ कसैको डेलिभरी गर्न जान्छेस् । बच्चाको जन्मपश्चात् उसको बाबु खोइ सोध्छेस् होला ? मलेसिया छ, कतार छ, साउदी छ, कोरिया छ, यस्तै भन्छन्, तर त्यो वेला त्यो आवाज र अनुहारमा चमक भेट्दिनस् होला । ती प्रेग्नेन्ट श्रीमती चेक गर्न आउँछन्, साथमा अर्को मान्छे लिएर । छिटो गर्नु, मलाई ढिलो भइसक्यो, यस्तो भयो, उस्तो भयो, तैँले नि सुनेकी होलिस् । नसुनेझँै गरिस् होला, सुनसान ठाउँमा बाटो छेक्नेहरु पनि भेटेकी होलिस् । तेरो आनो मान्छे साथमा भइदिए, सोच्दी होस् । छोराछोरीले राम्रो काम गर्दा काँधमा राखेर घुमाओस् । म छु भन्ने आभास दिलाओस् । छातीमा टाँसेर ढुकढुकी महसुस गराओस् । कस्तो हुन्छ, सम्झी त । बुढा भएको हकले दुई थप्पड लगाओस्, आफू बुढी हुनुको गर्व हुन्छ । रातको एकान्तमा ४००–५०० को माया चाहिन्न राधे । जस्तो भए नि साथ होस् । भरोसा होस्, प्रेम होस्, विश्वास होस् । बुढा हुनुको हक जमाओस् ।
‘राधे, साँच्चै भनूँ, अहिले म के चाहन्छु ? मलाई थाहा छैन । तर, तँ के चाहन्छेस्, तँलाई त थाहा होला । मैले खोजेको के हो ? बुझेकी छैन । मनको आवेग आँधी बनेर मलाई उडाएको मात्र हो । मैले के गरिरहेकी छु, सब थाहा छैन । भोलि सुख पाउँछु, दुःख पाउँछु, त्यो नि थाहा छैन । यति बुझ्छु– हरेक ढुङ्गाको अस्तित्व छ ।’
‘ती हरेक ढुङ्गाहरु, ओरालो ठाउँमा लगेर बिस्तारै छाड्ने हो भने आनो बर्कतले भ्याउन्जेल पल्टिन्छ, आ–आनो बाटो बनाउँदै । औकातले भ्याउन्जेल गुड्छ नै । हामी त मान्छे हौँ राधे, केही न केही त पक्कै छ नै । त्यसमा नि लोग्नेमान्छे साथ हुनु भनेको आँट हो, विश्वास हो । अझ बढी अदृश्य शक्ति हो । दुनियाँ जित्ने साहस, प्रेम हो ।’
धेरै कुरा सीतेले भनी । उही गहकिला तर्क पेस गरी, घर छाड्नुको । जिन्दगी जितेर बाँचेकाको अगाडि । तैपनि, मेरो मन हल्लाइदियो । गतिलो विस्फोट त होइन । सोचको जगमा धमिराहरु यताउता चलमलाए पक्कै ।
उसको अधीर, अशान्त, अतृप्त जीवन लाभाहरुले उसलाई पगालेर अगाडि बढाउन मद्दत गरिरह्यो । म पनि त्यो तातोबाट सेकिएँ, जलिहाल्न सकिनँ । फकाउने चेष्टा गरेँ, ‘नजा न सीते । दुःख–सुख सहौँला, कमसेकम छोराको मुख हेरेर त बस ।’
उसलाई उनेर राख्ने केही झिर नै भएन । अल्झाउने हुक नै पाइनँ । तर, पनि बोलेँ, ‘छोरो बढ्दै छ, हजुरआमा छिन्, एक–डेढ सालपछि बाबु आउँछ । नचिन्दो हुन् उः बेला, एक–अर्कालाई ।’ यसो भन्दै गर्दा कस्तो–कस्तो भई, तर पग्लिन ।
‘दुनियाँले बाँच्न दिँदैन सीते, त्यो बालकलाई । आमा भनेको आमा नै हुन्छ । आमाको कर्तव्य त निभाएर हेर् । त्यो अभाव, त्यो नहुनुको हिसाबकिताब पछि गर्लिस् सँगै बसेर । अहिले तेरो आमाको छायाँ र मातृत्वबाट चाहिँ वञ्चित नगर् ।’
‘राधे, त्यस्तो होइन, बाँच्छ । धेरै भने रन्डीको छोरो भन्ला । वेश्याको छोरो भन्ला । उसले पनि सबै चिज देख्छ, बुझ्छ । बोलिदिन्छ केही न केही । मुखमा बुजो लाइदिन्छ । कुनै दिन एउटी तरूनी फकाएर घरव्यवहार सम्हाल्ला, एक चिम्टी सिन्दुर र घाँटीमा एक लर्को पोते दिएर । दुई–चार सहवासपछि ऊ पनि घर सम्हाल्न बिदेसिन्छ । अर्काकी छोरी कि त पर्खिन्छे कि त भाग्छे । रित्तै यस्तै छ नि ।’
मेरो मित्रता र मेरो छेकबार कामै लागेन । सबै बार भत्काएर अघि बढी । मैले भन्ने केही बाँकी नै थिएन । ‘साँच्चै जान्छेस् त ?’
‘हिँडी नै सकेँ, उसले कमाइदिएको पैसा बोकेर । त्यस्तो पैसा त फेरि कमाउँछ, दुई–चार साल बस्यो भने । मभन्दा राम्री स्वास्नी नि पाउँछ, फर्केर आएपछि । कमी के छ र उसमा ? लाखौँमा एक छ । मैले चाहिँ आफूलाई रोक्न सकिनँ, त्यो अज्ञात सपना, चाहना पूरा गर्नलाई । र, अब पछि हट्नु पनि छैन । भोलिको नतिजाको पर्वाह नि छैन । समयले सबै कुरा मलाई दिँदै जानेछ ।’
‘कहाँ जान्छेस् त ?’
‘थाहा छैन । भाग्यले यहीँ लान्छ चाहिँ भन्दिनँ । यति भनूँ, कसैले नचिन्ने ठाउँमा ।’ दाहिने ओठको चेपबाट छड्के हाँसी । ऊ दुनियाँ झुक्याउन चाहन्छे ।
‘यति राति नजा, बिहान झिसमिसेमै उठेर हिँड् । एक रात बस्, अन्तिमपटक कुरा गरौँला । पछि के हो, के हो ?’ ‘किन चिन्ता लिन्छेस् राधे ? तँलाई म कल गर्छु नि । कहाँ बिर्सन सक्छु र ? बिर्सने भए बिदा माग्न नि आउने थिइनँ ।’ सुकसुकाउन खोजी । उस्तै कठोर बनेर सम्हालिई ।
‘कसरी जान्छेस् यति राति ?’
‘म सुवाससित हिँडेको । ऊ मास्तिर पर्खिरहेछ ।’ थुक्क, म लाटी रहेछ, सीते पोइल हिँडेकी कल्पना नै नगरेकी अहिलेसम्म । हाँसो उठ्यो, कुरा सम्झेर ।
‘के भो ?’ उसले सोधी ।
म झस्किएँ । ‘केही होइन । ल ल बधाई छ । तिमीहरुको जीवन स्वर्गझँै बनोस् । तँ जत्ति बुझ्नेछेस् ऊ त्यत्ति नै बुझ्नेछ । तैँले चाहे जस्तै हुन्छ । सीते, तिमीहरुको जिन्दगी समाजको यस्तो परम्पराबाट नपेचिएको हुँदो हो त, तिमीहरु भाग्न नि पर्ने थिएन होला । जहाँ गए नि नबिर्सनू है ।’
यति भन्दाभन्दै मोबाइल बज्यो । पर्सबाट निकाली । स्विटहार्ट नाम फोटोसहित सेभ थियो, त्यो गोरे केटो, इमानदार सबैले मानेको मान्छे । हरियो जिन्स सर्टमा साह्रै खुलेको । उसले कल रिसिभ गरी । ‘ल म आएँ’ भनेर फोन काटी ।
सीते झोला बोकेर उठी । पर्स उठाई । ‘तँलाई नयाँ नम्बरबाट कल गर्छु’ भन्दै मजाले च्यापेर हग गरी । चुकुल खोलेर बाहिरिई । अँध्यारोमा एकपल्ट पनि पछाडि हेरिन । सायद थाहा हुँदो हो, पछाडि फर्केर हे¥यो भने मायामोहले अगाडि बढ्न दिँदैन भनेर ।
मैले चुकुल लगाएँ । नारी मन एक्कासि अमिलिएर आयो । पोल्यो, के कमी थियो र ममा चाहिँ । मैले चाहिँ किन कुरा गरिनँ होला ऊसँग ? खाटमा पछारिएँ उत्तानो परेर । निद्रै लागेन, रातभर । स्क्रिनभरिको फोटो र नामले पछ्याइरह्यो ।
दिनमा कल्पिनु,
जुनतारा कति राम्रा छन् है
अँधेरी रातमा
उज्यालो घाम नै चाहिन्छ
जब साथमा यी दुवै हुँदैनन्
जुनकिरी नै ठीकै लाग्छ
यसो जिन्दगी फर्केर हेर्छु
कोही, कोही छैन । सबै आफैँले मिलाउनुपर्छ ।