उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ । 

भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट सङ्गठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहदै आएको बताउँदै दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो । “दक्षिण एसियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय सङ्गठनको प्रभावकारितामा रहेको छ”, उहाँले भन्नुभयो, “तसर्थ, सदस्य राष्ट्रहरुले यस क्षेत्रीय सङ्गठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नु पर्दछ ।”

उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइ र अन्य महत्वपूर्ण बैठकसमेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सार्क सदस्य राष्ट्रहरुले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने विश्वास पनि व्यक्त गर्नुभयो । “सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रुपमा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “सदस्य राष्ट्रहरुले सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेमा म आशावादी छु ।”

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिँदै महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीको सामना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । भेटघाटमा सार्कका नवनियुक्त महासचिव सरवरले सदस्य राष्ट्रहरुको संयुक्त पहलमै सार्क अगाडि बढ्ने बताउनुभयो । “म सबै सदस्य राष्ट्रको भ्रमण गरी सार्कलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नेछु”, उहाँले भन्नुभयो, “सार्कलाई अगाडि बढाउन नेपाल र नेपाली जनताको प्रतिबद्धताप्रति म आभार प्रकट गर्दछु ।”