चुक्कुल लगाई लुसुक्क सेल्फी लिँदै खुसुक्क
ऐना हेर्दै नाचेर हाँसी-हाँसी मुसुक्क ।
भाइरल हुन खोज्दैछिन् टिक्टकका नामले,
फेसबुकमा भिडियो राखिन् सानी आमाले ।।
हाँस्न पनि जानेकी रुन पनि जानेकी,
लुकी-लुकी कलाकार हुन पनि जानेकी ।
भन्दै थिइन् माइजूले भन्दै थिए मामाले,
फेसबुकमा भिडियो राखिन् सानी आमाले ।।
पाउडर लगाई गालामा रातो दल्दै ओठमा,
मस्त हुन्छिन् सानिमा रमाउँदै कोठामा ।
बाहिर जान खोज्दिनन् पोल्छ अरे घामले,
फेसबुकमा भिडियो राखिन् सानी आमाले ।।
बुहारीको पीडाको यिनले गीत गाएकी,
उता सासू एक्लैले गोठे धन्दा भ्याएकी ।
उफ्री-उफ्री भन्दैछिन् थाकेँ साह्रै कामले,
फेसबुकमा भिडियो राखिन् सानी आमाले।।।
-रमेशचन्द्र घिमिरे (भोर्लेटार, लमजुङ)