दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । 

खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्याएका छन् । एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभएको छ । 

खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए । दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच–छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । 

किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए । कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिनुभएको छ । 

कतिपय किसानले आफँै उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।