मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ । 

एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गर्नुभएकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गर्नुभएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको हो । सामाजिक कथा वस्तुमा आधारित उक्त चलचित्र ११ मिनेट लामो छ । 

“मैले गरेको पहिलो काम नै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु । विश्वभरका चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ चलचित्र हेर्न र आफ्नो चलचित्रको प्रतिक्रियाका निमित तयार छु”, निर्देशक गिरीले भन्नुभयो । 

उहाँका अनुसार ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत चलचित्र छनोट भएको हो । चलचित्रमा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

सोही महोत्सवमा चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ हुँदैछ । महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एसिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । 

छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।