काठमाडौं। प्यालेस्टायनी हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको इजरायल स्थित नेपाली राजदुतावासले जनाएको छ। हमासले इजरालयलमाथि शनिबार गरेको गरेको उक्त आक्रमणमा परी कम्तिमा ६ सय जनाको ज्यान गएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुने नेपालीहरूमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

घाइते हुनेहरूमा सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी रहेका छन् उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनीहरूको दुबैको खट्टामा गम्भीर चोट लागेको रिजालले बताउनु भयो ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेको दुताबासले जनाएको छ।