सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी कांग्रेस नेत्री एन्ड्रिना घिमिरेलाई अर्थिक सहयोग गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का सचिव शङ्कर खड्काको पहलमा अमेरिकामा बस्ने नेपालीबाट सङ्कलन गरिएको रू तीन लाख ५१ हजार एक सय ११ आज कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले घिमिरेलाई हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा कांग्रेस नेता डा कोइरालाले रकम सङ्कलनको संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । “दुःखमा परेकालाई मैले आवश्यक सहयोग गर्नेछु, नागरिकको दुःखमा जोडिने मेरो प्रयास रहनेछ,” उहाँले भन्नुभयो । 

कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले घिमिरेको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले घिमिरेलाई खुट्टा गुम्यो भनेर आत्मबल नगुमाउनसमेत आग्रह गर्नुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, दीपक भट्टराई, एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, महासचिव गौरीराज जोशी, एनआरएनका महासचिव केशव पौडेललगायतको सहभागिता थियो ।