नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । 

आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति दस ग्राम तीन हजार नौ सय १५ ले कम होे । नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मूल्य अन्य सबै दिन ओरालो लागेको छ । 

 यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन प्रतिदस ग्राम एक हजार दुई सय २६ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिदस ग्राम एक हजार तीन सय ९५ मा झरेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा कमी आयो । 

अमेरिकी बजारमा सुनको बिक्री बढ्नाका साथै अमेरिकी डलर मजबुत बनेकाले मूल्यमा उच्च गिरावट आएको हो । विश्व बजारमा कच्चा तेलको मूल्यमासमेत कमी आएकाले त्यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मूल्यमा कमी आएको बताइएको छ । अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको असरस्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीले नेपाली बजारमा समेत मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।