काठमाडौं। नेपाल सरकारले मंगलबारदेखि ४ दिनका लागि देशभरका सबै शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बढ्दो प्रदुषणका कारण शिक्षण संस्था विदा दिने निर्णय गरेको हो। 

पछिल्लो समय देशभर वायु प्रदुषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको हो। सरकारको निर्णय अनुसार चैत १७, १८, १९ र २० गते शिक्षण संस्था बिदा हुने छन्। पूर्वनिर्धारित परीक्षाहरू यथावत सञ्‍चालन हुने जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर एक्यूआई ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ। काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक ४०० माथि रहेकाले विश्वकै प्रदुषित सहरमा सूचीकृत भएको छ।