धुलिखेल। आदिवासी जनजाति चलचित्र महासंघको ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिने कार्यशाला गोष्ठी धुलिखेलमा सुरु भएको छ। बुधबार पाँच दिवसीय गोष्ठी धुलिखेलस्थित मिलन ज्योति गाडेन रिसोर्टमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्घाटन गरेका छन्।

कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश मूलक चलचित्र निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता औँल्याएका छन् । कार्यक्रम मार्फत उनले सबै भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्ले समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्वैष फैल्याउने खालका गतिविधि न्यूनिकरण गर्न मन्त्री गुरुङले आग्रह गरे। सञ्चारमाध्यमले समाजलाई उभो गति दिन महत्वपूर्ण भुमिका खेल्लने भन्दै सबै जाति, भाषा, धर्म र संंस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा चलचित्रकर्मीहरुलाई एकजुट हुन आह्वान गरेका छन्। राष्ट्रको समृद्धिमा योगदान पुु–याउने गरी चलचित्र निर्माणमा ध्यान दिन उनले आदिवासी चलचित्रकर्मीहरूलाई आग्रह गरे। 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, चलचित्र निर्देशक नवीन सुब्बा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष पेमा लामा, मगर चलचित्र संघका अध्यक्ष युवराज मास्के मगर लगायतले कार्यशाला गोष्ठी सफलताको कामना गरेका थिए ।

पाँच दिवसीय कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले गरेका छन्। उक्त गोष्ठीमा ३५ जिल्लाका १५ वटा जनजाति संघका ३/३ जना सहित ४५ जनाको सहभागिता रहेको आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष विकु थोकरले जानकारी दिए ।