काठमाडौं। सुनुवार राष्ट्रसेवक समाजको प्रथम साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। शनिबार कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा नयाँ कार्यसमिति चयन गर्दै साधारणसभा सम्पन्न भएको हो।

साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी बागमती प्रदेशसभा सदस्य माननीय उर्मीला सुनुवारले सुनुवार राष्ट्रसेवक समाजले सुनुवार समुदायका राष्ट्र सेवामा आवद्ध भएका सम्पूर्ण सुनुवारहरूलाई एकतावद्ध गर्ने उद्देश्यले संस्था स्थापना हुनु ऐतिहासिक भएको भन्दै संस्थापक पदाधिकारीहरूलाई आभार व्यक्त गर्नु भयो। सांसद् सुनुवारले राष्ट्र सेवामा उल्लेखनिय सुनुवार कर्मचारीहरूको सहभागिता अभिवृद्धि गर्न संस्थाको प्रमुख भुमिका रहने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा कानून, नीति, कार्यक्रम निर्माणको तहमा आफूलाई समेत राष्ट्र सेवकहरूबाट सहयोग पुग्ने बताउनु भयो । उहाँले भन्नु भयो "पक्कै पनि सुनुवार राष्ट्र सेवक समाजले राष्ट्र सेवामा रहनु भएका सुनुवारहरूको एकिन तथ्याङ्क सङ्कलन गरी प्रकाशन गर्नेछ र कुन कुन क्षेत्रमा, कुन कुन मन्त्रालय तथा कार्यालयहरूमा को-को कार्यरत छन् भन्ने तथ्याङ्क प्राप्त हुनेछ र त्यसले कार्यगत प्रक्रियामा थप सहजता मिल्नेछ।"

कार्यक्रमका विशेष अतिथी सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्दै जातिगत संस्था कानूनी रुपमा मान्यता प्राप्त गर्ने संस्था सुनुवार सेवा समाज भएको जिकिर गर्दै सुनुवार सेवा समाज स्थापना नभएको सायदै अरु जातिय संस्था स्थापना हुने बताउनु भयो। सुनुवार राष्ट्रसेवक समाज स्थापना हुनु अत्यन्त जरुरी रहेकाले संस्था स्थापनामा आफ्नोसमेत सहकार्य रहेको बताउनु भयो। सुनुवार राष्ट्रसेवक समाजले भोलीका दिनमा राष्ट्र सेवामा मात्र नभई पहिचान, सांस्कृतिक, भाषिक, राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रहरूमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो। साथै, अध्यक्ष सुनुवारले समसायिक विषयलाई उध्रित गर्दै सामाजिक सञ्चालनको बढ्दो दुरुपयोग रोक्नु पर्ने बताउनु भयो। उहाँले भन्नु भयो "सुनुवार जातिको पहिचानजनित विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुले सुनुवार समुदायको भावनामा आँच पुगेको छ, यस्ता कार्यमा आफ्नै समुदायका महानुभावहरूले समेत जथाभावी टिकाटिप्पणी गर्नु हुँदैन, त्यस्ता पोष्टमा कमन्ट तथा शेयर नगरी रिपोर्ट गर्नु पर्दछ, सकारात्मक विषयहरूको विषयमा मात्र ध्यान दिनु पर्दछ।"

त्यस्तै, संस्थाका अध्यक्ष अमरदीप सुनुवारले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कुनै पनि देशमा दुई वर्ग शासक र शासित वर्ग हुने र सुनुवार समुदाय लामो समयदेखि शासित हुनु परिरहेको बताउनु भयो। अब सुनुवार राष्ट्रसेवक समाजले शासित वर्गको रुपमा रहेको सुनुवार समुदायलाई कुशल शासकमा परिणत गर्न राजनीतिक प्रतिनिधित्वका लागि मुख्य भुमिका खेल्ने बताउनु भयो। सुनुवार राष्ट्र सेवक समाजको नीति तथा कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजको विधानबमोजिम राष्ट्रसेवक सुनुवार कर्मचारीहरूलाई सदस्यता वितरण गरी रामेछाप, सिन्धुली, ओखलढुङ्गा, दोलखा, सुनसरी, झापा, ईलाम र पाँचथर जिल्लामाजिल्ला समितिहरू गठन गर्ने, सुनुवार समुदायबाट सरकारी सेवामा नव प्रवशीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्ने र सेवा निवृत्त राष्ट्र सेवकहरूलाई विदाई तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने, सुनुवार राष्ट्रसेवक कर्मचारीहरूसहित सुनुवार समुदायको क्षमता विकास गर्न स्रोतको सुनिश्चितता गरी विभिन्न गोष्ठी, अन्तर्क्रिया, तालिम एवम् अध्ययन कार्यक्रम सञ्चालन गर्ने, सुनुवार जातिका युवाहरूलाई सरकारी सेवामा आकर्षण गर्न लोक सेवा लगायत प्रतिस्पर्धात्मक परीक्षा तयारी सम्बन्धी अभिमुखिकरण तथा तयारी कक्षाहरू सञ्चालन गर्ने, राष्ट्र सेवामा आवद्ध सुनुवारहरूको क्षेत्रगत एवम् खण्डिकृत तथ्याङ्क सङ्कलन गरी प्रकाशन गर्ने, संस्थाको गतिविधीहरू तथा अनुसन्धानमूलक सामग्रीहरू समावेश गरी वार्षिकरुपमा संस्थाको मुखपत्र स्मारिका प्रकाशन गर्ने, राष्ट्रसेवक सुनुवारहरूबीच आपसी समन्वय, सहकार्य, साझेदारी प्रवर्द्धन गर्न विविध प्राज्ञिक कार्यक्रमहरूको सञ्चालन तथा व्यवस्थापन गर्ने, सुनुवार राष्ट्रसेवक समाजको उद्देश्यसँग मेल खाने अन्य सरोकारवाला निकायसँग संस्थाले नीतिगत तथा कार्यक्रमगत समन्वय र सहकार्य गर्ने, संस्थागत सुशासन कायम गर्न संस्थाको विधान बमोजिम वार्षिक साधारणसभा सम्पन्न गरी संस्थाको प्रशासनिक कार्य सञ्चालन तथा व्यवस्थापन प्रभावकारी र परिणाममुखी बनाउने, सुनुवार समुदायलाई हाम्रो स्वास्थ्य, पहिलो प्राथमिकता अभियानका साथ स्वास्थ्य शिविर सञ्चालन गर्ने र योगा कक्षाहरू भौतिक तथा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, सामाजिकिकरण प्रक्रियामा सुनुवार राष्ट्रसेवक भन्ने मान्यताका साथ सुनुवार राष्ट्रसेवक कर्मचारीहरूबीच र सरोकारवाला निकायहरूबीच आपसी सम्बन्ध विस्तार गर्न विभिन्न साहित्यिक र खेलकुदजन्य क्रियाकलापहरू सञ्चालन गर्ने, समावेशी लोकतन्त्रलाई सार्थक बनाउन राष्ट्र निर्माण तथा राज्य निर्माणमा सुनुवार राष्ट्रसेवकहरूको सहभागिता प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वयात्मक पहल गर्ने जस्ता कार्यक्रमहरू रहेको बताउनु भयो।

समाजको प्रथम वार्षिक साधारण सभा कार्यक्रममा नेपाली सेनाका सहायक रथी राजेन्द्र प्रसाद सुनुवार सेवा निवृत्त हुनु भएको अवसरमा उहाँको सेवा निवृत्त जीवन थप फलदायी रहोस् भन्ने कामना गर्दै दोसल्ला ‌ओढाएर सम्मान पत्रसाथ विशेष सम्मान गरिएको छ। त्यस्तै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक विनोद कुमार सुनुवारलाई पदोन्नति हुनु भएकोमा प्रसंशापत्रद्वारा सम्मान कार्य सम्पन्न गरिएको छ।

प्रथम वार्षिक साधारण सभाले अमरदीप सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा डम्बर बहादुर सुनुवार, सचिवमा विश्वास सुनुवार, सह-सचिवमा फौद बहादुर सुनुवार, कोषाध्यक्षमा तारादेवी सुनुवार र सदस्यहरूमा धनमाया सुनुवार, बीर बहादुर सुनुवार, रमेश बहादुर सुनुवार, जिङ्गु मुखिया, मनोज कुमार सुनुवार, शशिकला सुनुवार रहनु भएको छ।

कार्यक्रममा विशेष अतिथी सहायक रथी राजेन्द्र प्रसाद सुनुवार, विशेष अतिथी पूर्व माननीय सांसद् दाल कुमारी सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका पदाधिकारीहरू, सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार, सुनुवार सेवा समाजका सल्लाहकार संयोजक रणवीर सुनुवार, सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवार, नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका अध्यक्ष प्रेम कुमार सुनुवार तथा पदाधिकारीहरू, काठमाडौं जेसिसका अध्यक्ष अनुप सुनुवार, प्रजातान्त्रिक सुनुवारका तर्फबाट तोरण सुनुवार, लेखा अधिकृत मनोज कुमार सुनुवार र वाचस्पति सुनुवार, पूर्व राष्ट्र सेवक ईन्जिनीयर हरीबहादुर सुनुवारलगायत सुनुवार राष्ट्रसेवकहरूसहित करिब एकसय जनाको उपस्थिति रहेको थियो।