काठमाडौं। लेखक तथा साहित्यकार राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार लेखक महासङ्‍घ गठन भएको छ। आईतबार ललितपुरको यालाखिम रेष्टुरेन्टमा सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो।

महासंघको आयोजनामा ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ देशभरका आठ राज्य समितिका प्रतिनिधिहरुसहित चैत्र ७ गते, शनिबारबाट सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा कवि भूपाल राई, नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ, नागरिक अभियन्ता नारायण वाग्ले, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सम्बोधन गरेका थिए।

आदिवासी जनजाति महिलाको अवस्थाबारे कैलाश राई, नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णीकार, पत्रकार सञ्जु दोङ्ग, अभियन्ता तथा मधेश मामिलाकी अध्येता रिता शाहले सम्बोधन गरेका थिए। उद्घटान सत्रमा डा.तारालाल श्रेष्ठले ‘आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता’ शिर्षकमा र डा.अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्थासम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए।

भेलाले मुकारूको अध्यक्षतामा समिति गठन गरेसँगै महासंघको ७ बुँदे घोषणापत्र पनि जारी गरेको छ। आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरू सुनुवाई नभएको ठहर गर्दै महासंघले आफ्नो घोषणापत्र जारी गरेको हो। संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक भएता पनि व्यवहारतः लागु नभएको ठहर गर्दै विविधतासहितको नेपाली सौन्दर्यशास्त्रको निर्माण गर्न आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरुलाई मिहिन ढङ्गले बुझ्ने, बहस तथा अभिलेखीकरण गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

महासंघले आदिवासी जनजाति समुदायका भाषाहरुलाई जोडदार रुपमा लेखक तथा तिनका मौखिक साहित्यसमेतलाई दस्तावेजीकरण गर्न गराउन सम्बन्धित जाति समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर रहि विश्वभर भएका भइरहेका आदिवासी जनजाति अभियानहरुसित घनिभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने घोषणा गरेको छ प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाब दिँदै सबै आदिवासी जनजाति, मातृभाषबिच साझा सम्बन्ध विकास गर्नको लागि साझा लेखनपद्धति निर्माण गर्ने घोषणा पनि महासंघले गरेको छ।

महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका छन् । त्यस्तै महासंघको महासचिवमा बुद्ध योञ्जन लामा चयन भएका छन्। सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा उर्मिला गम्वा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन् ।

महासङ्घको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि लामा, डा चित्र माबो, रोशन गुरुङ्ग, रामलाल उराँव, कविराज तामाङ्ग, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ्ग, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ्ग राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन्।