पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको बताउनुभएको छ । साथै उहाँले सधै मागेर निर्वाह नहुने बताउनुभएको छ ।
पाकिस्तानको सर्वकालीन मित्र चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाई सार्वजनिक भएको हो । पाकिस्तानले हालै अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०बाट पनि केही ऋण प्राप्तिको सुनिश्चितता गरेको छ ।
सोमबार खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिकको देश हो अब हामीले ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्छ भन्नुभयो । सहयोग मागेरमात्र निर्वाह नहुनेमा जोड दिँदै उहाँले भिक्षा माग्ने कचौरा फाल्नुपर्ने बताउनुभएको हो ।
सुरक्षा र अर्थतन्त्र एकअर्कासँग गाँसिएका र अपरिहार्य रहेका उल्लेख गर्दै उहाँले ईश्वरको आशीर्वाद पाएको पाकिस्तानलाई संसारको कुनै पनि शक्तिले प्रगति गर्नबाट रोक्न नसक्ने बताउनुभयो । साना किसान लाभान्वित हुने गरी हरित क्रान्तिसँगै कृषि क्रान्ति अपरिहार्य भएको उहाँको कथन थियो ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै दिनुभएको जानकारीअनुसार चीनबाट पाकिस्तानले ६० अर्ब अमेरिकी डलर अतिरिक्त ऋण प्राप्त गर्दैछ । आईएमएफबाट पनि पर्याप्त रकम ऋणस्वरुप प्राप्त हुँदैछ । नौ महिनामा सुधारका समग्र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने शर्तका साथ तीन अर्ब अमेरिकी डलरको प्याकेज उक्त वित्तीय संस्थाबाट प्राप्त हुँदैछ ।
यो वर्षको जुलाईसम्ममा पाकिस्तान सरकारको ऋण २ अर्ब ४४ करोड अमेरिकी डलर पुगेको छभने चीनसँगको २.०७ अर्ब अमेरिकी डलर छ ।