काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। आईतबार वेबसाइटमार्फत् मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

जारी मौद्रिक नीतिले नीतिगत दर ७ प्रतिशतबाट घटाएर ६ दशमलव ५ प्रतिशत कायम गरेको छ। मौद्रिक नीति पारित गर्न आइतबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी पारीत गरेको आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढाइने, ठूला कर्जामा अनुगमन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । हालको बैंकदर ७ दशमलव ५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५ दशमलव ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ।

घरकर्जाको सीमा १ करोड ५० लाखबाट वृद्धि गरी २ करोड पुर्‍याइने र चालु पुँजी कर्जा मार्गदर्शनमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा उल्लेख छ । सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ।