शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उहाँले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिनुभयो । 

उहाँले ऐन, कानुन तर्जुमा गर्दा कानुन, न्याय तथा संसदीय मन्त्रालय र अर्थ मन्त्रालयबाट छिटो परामर्श प्राप्त हुन नसकिरहेको स्थिति अन्त्यका लागि नीतिगत निर्णय गर्ने सरकारको तयारी भएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री र विभागीय मन्त्रीले चाहँदा पनि कानुनका फाइल घुमिरहने प्रवृत्तिबाटमाथि उठ्नका लागि ठोस् निर्णय गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले विदेशमा शिक्षा आर्जन गरेर त्यहीँ राम्रोसँग क्षमता प्रदर्शन गर्न सक्ने स्थिति भएर पनि देशको माटोले आफ्नो विज्ञता खोजेको छ भनेर प्रतिभावान व्यक्तिलाई त्यस प्रकारको भावना जगाउन सक्नुपर्नेमा जोड दिनुभयो ।“शिक्षामा भौतिक संरचना र जनशक्तिको अभाव मात्रै समस्या होइन, समस्याको जरो हाम्रो मानसिकता र सोचमा रहेको छ ।”, मन्त्री राईले भन्नुभयो, “त्यसले गर्दा हामीले समस्याको जडतालाई तोड्न सकेका छैनौँ ।” उहाँले आवश्यक शिक्षक दिन नसकेसम्म गुणस्तरीय शिक्षाको चुनौतीको सामना गर्न नसकिने बताउँदै शिक्षाको बजेट पर्याप्त विनियोजन नभएकामा गुनासो व्यक्त गर्नुभयो ।
बैठकमा मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कीय विवरणमा आधारभूत तहमा दुई दशमलव ६ प्रतिशत कक्षा छाड्ने प्रवृत्ति र सात दशमलव ८ प्रतिशत कक्षा दोहा¥याउने रहेको उल्लेख छ । 

हाल ५३ हजार एक सय ५८ शिक्षक अपुग र २८ हजार विद्यालय भवन निर्माण गर्न आवश्यक रहेको छ, ७२ स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउन नसकिएको मन्त्रालयले जनाएको छ । हाल स्वदेशभित्र उच्चशिक्षामा १७ प्रतिशत विद्यार्थीको पहुँच रहेको र उच्चशिक्षाका लागि विदेश जाने विद्यार्थी वृद्धि भएकाले उच्चशिक्षाको राष्ट्रिय क्यालेण्डर ल्याएर विद्यार्थीलाई आकर्षण दिन खोजिएको शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बताउनुभयो ।
बैठकमा सांसद्हरुले स्वदेशका लागि केही गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न उचित पाठ्यक्रम निर्माण, समयमा परीक्षा र समयमा परीक्षाफल प्रकाशन गर्ने गरी  प्रबन्ध गर्न सुझाव दिनुभएको छ ।