दानियल सुनुवार, रामेछाप । गोकुलगंगाको धुले सडकले अब उन्मुक्ती पाउने भएको छ । अझसम्म कतैबाट कालोपत्रे सडकले नछोएको गोकुलगंगा गाउँपालिकामा यस वर्ष खिम्तीवेँसी हुँदै सडक कालोपत्रे हुँदै आएकोमा गोकुलगंगाबासी खुसि छन् । सडकको विभिन्न खण्डको डिपिआर गरी नाली कल्पट निर्माण हुँदै गर्दा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले काम अवरुद्ध भएको थियो ।

वडा नं. ६ फार्पुमा कालोपत्रेको काम करिब पचास प्रतिशत भएको छ भने वडा नं. ५ मा नाली कटिङ तथा डिपिआरको काम हुँदैछ । वडा नं. ४ र ३ मा सडक स्तरोन्नतीको लागि वातावरणीय प्रारम्भिक परीक्षण भइरहेको छ ।

सिईआरसी कन्सल्टेन्सीले प्रारम्भिक वातावरण परीक्षणको लागि जिम्मा लिएको छ । वडा नं. ३ मा आज वडाध्यक्ष, स्थानीय र प्रभावित व्यक्तिहरुसँग एक अन्तर्क्रिया कार्यक्रम भएको हो । अन्तक्रिया कार्यक्रममा सिईआरसी कन्सलटेन्सीका प्रतिनिधि प्रतिक महर्जनले सामुदायीक वन, सडक आसपासका प्रभावित वर्ग र वडा नं. ३ का वडाध्यक्षसँग राय तथा सुझावहरु संकलन गरी एक माइन्युट मुचुल्का उठाइएको छ ।

अन्तरक्रिया कार्यक्रममा वडा नं. ५ देखि वडा नं. ३ सम्म १५.०९ कि.मी. सडकको सर्भे कालोपत्रे गर्न प्रारम्भिक वातावरण परीक्षण गरेको कुरा महर्जनले बताएका छन् ।

सडक स्तरोन्तीका क्रममा प्रभावित नागरिकहरुले ठाउँठाउँमा आवश्यकता अनुसार प्रतिक्षालय, सिंचाई, खानेपानी र ढल निकासमा कुनै बाधा नपर्ने तथा राम्रो व्यवस्थापन हुनुपर्ने । सुकुम्बासी नै हुने गरी घर जग्गा कटान हुनु नहुने र काम बेलैमा सम्पन्न हुनुपर्ने जस्ता सुझाव तथा मागहरु राखेका छन् ।