काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ ।

आजै अपराह्न ५ बजे उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वि.सं. २००८ मा जन्मनुभएकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएको थियो । तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहनुभएकी स्व पाण्डे विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो भने विसं २०६४ मा संविधानसभा सदस्य हुनुभएको थियो ।

उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति हुनुभएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उहाँले पटक–पटक जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।

स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यालयले स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ । यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । साथै सभापति देउवाले नेत्री पाण्डेको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हकअधिकारका लागि उहाँले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउनुभएको छ ।

पाण्डेको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको जनाएको छ ।