काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभयो । 

राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गर्नुभएको सो प्रदर्शनी सर्वसाधरण सबैका लागि खुला छ । प्रदर्शनी बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिन्छ । 

विशेषगरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्वराष्ट्रपति, मुलुकका लब्धप्रतिष्ठित व्यक्तित्वसहित चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्नेहरू, आमसञ्चारकर्मी र सर्वसाधरण सहभागी भइरहनुभएको छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १४ गते सो प्रदर्शनी अवलोकन गर्दै गणतन्त्र दिवसको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्न सहयोग पुग्ने सिर्जनशील कार्यक्रम आयोजना गरेकामा राससलाई धन्यवाद दिनुभयो । 

विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवम् सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ । राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय वटा तस्बिर समेटेर हरेक वर्ष तस्बिर प्रदर्शनी गर्दै आएको छ । 

अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराउँदै उद्योगमन्त्री रिजाललाई मायाको चिनो प्रदान गर्नुभयो । यसैगरी, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायत राससका पदाधिकारी एवम् सञ्चारकर्मीले मन्त्री रिजाललाई स्वागत गर्नुभएको थियो ।