काठमाडौं। सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताउनुभयो ।
 
प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उहाँले बताउनुभयो । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।