काठमाडौं। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ।

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उहाँको भनाइ छ।

“नीति तथा कार्यक्रममा विभिन्न विषय समेटिएका छन्, यसको सही मूल्याङ्कन कार्यान्वयन भए पछि हुने हो”, उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बाबजुद जनताको जनजीवनसँग जोडिएका विषय सम्बोधनका लागि न्यायोचित बजेट बिनियोजन आवश्यक छ । त्यसैअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ ।”

सुशासन प्रवद्र्धन तथा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका लागि विधिको शासन लागू हुनुपर्ने बताउनुहुँदै उहाँले कानुन अरुलाई मात्रै लागू हुने र आफ्ना लागि लागू नहुने भन्ने सोच खराब रहेको बताउनुभयो ।

“नक्कली भुटानी शरणार्थी प्रकरण पनि विधिको शासनअनुसार छानबिन र कारबाहीको दायरामा ल्याइनुपर्ने उहाँको भनाइ छ । तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न र प्रभावकारीरुपमा काम गर्ने बनाउनका लागि आवश्यक कानुन निर्माणमा शीघ्रता दिनुपर्ने पनि उहाँले बनाउनुभयो । उहाँले सातवटै प्रदेशको विशेषता झल्किने गरी योजना ल्याउन सुझाव दिनुभयो । 

सङ्घीय राजधानीको एकीकृत विकास योजना बनाइनुपर्ने तथा समन्वय इकाइ गठन गर्नुपर्ने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका योजना मात्रै केन्द्रबाट सञ्चालन गर्नुपर्ने, मझौला र साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउने, नेपाली वस्तुको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उहाँको भनाइ छ ।