काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो।

आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ । आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह ९५ दशमलव ४२ र उत्पादन तथा प्रशोधन समूह ७९ दशमलव ६३ अङ्कले बढेको छ ।   आज बैंकिङ समूह १२ दशमलव १७, विकास समूह ५७ दशमलव ०५, वित्त समूह १७ दशमलव ४९, होटल तथा पर्यटन समूह ६६ दशमलव ९७ र जलविद्युत् समूह १२ दशमलव नौ अङ्कले बढेको छ ।

त्यस्तै जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ३०, उत्पादन समूह १५ दशमलव ८०, व्यापार समूह १३ दशमलव २२ र अन्य समूह छ दशमलव ७४ अङ्कले बढेको छ । आज तारागाउँ होटल रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड ९१ हजार पाँच सय ५७ बराबरको एक लाख ६६ हजार २२ कित्ता शेयर किनबेच भएको छ ।