चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यका लागी उम्मेदवारी दर्ता गर्नुभएको छ । 
आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा आज बिहान १०ः०० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ हुनुहुन्छ । 
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताउनुभयो । आफू निर्वाचनका लागि उत्साहित भएको उहाँको भनाइ थियो । निर्वाचनलाई निर्वाचनकै रुपमा लिएको बताउँदै उहाँले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित रहेको बताउनुभयो ।
मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको दाबी छ । लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताउनुभयो । “उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, उहाँले भन्नुभयो ।

लामिछाने यसअघि गत मङ्सिरमा समपन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उहाँको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले  १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।
चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन् ।