काठमाडौं। एशियन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको छ। यस अघि ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी सकेको छ। 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।