काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आगामी फागुन ४ गतेबाट आइपिओ जारी गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ दरका २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर आइपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी रु.८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ। 

५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ। बाँकी २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ। 

निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम आठ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। 

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बिबी’ प्रमाणपत्र प्रदान गरेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल छ। 

कम्पनीले ओखलढुंगाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी ०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई प्रवाह गर्दै आएको छ।