काठमाडौं। शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुका लागि आइपिओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीको आइपिओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा सो अवधि फागुन ३ गतेसम्म लम्बिने जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले २०६४ चैत्र २१ गते अनुमति लिई संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यवसायिक उत्पादन थालि सकेको छ।