काठमाडौं। बीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदा गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी पुरस्कार पाउने भएकी छन्। एसिड आक्रमणविरुद्धकी अभियन्ता खातुनलाई अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कार दिन लागेको हो।

नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै १५ वर्षीया खातुनलाई यस वर्षको इन्टरनेशनल वुमेन अफ करेज अवार्ड दिने जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने यस किसिमको पुरस्कार पाउने खातुन नेपालकै पहिलो महिला हुन्।

अमेरिकी विदेश मन्त्रालयले हालसम्म प्रदान गरेको अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छन्। खातुनलाई १५ वर्षको उमेर हुँदा एक किशोरले राखेको प्रेम प्रस्तावलाई अस्वीकार गर्दा उनको अनुहारमा एसिड प्रहार भएको थियो। उनको अनुहार, छाती र हातमा गहिरो चोटसमेत लागेको थियो।

अस्पतालको लामो समय विताएकी खातुन निको भएपछि एसिड आक्रमण विरुद्धको अभियानमा लागेकी छन्। एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई अमेरिकी विदेश मन्त्रालयले साहसी पुरस्कार (अवार्ड) दिइएको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ।