९ मंसिर, काठमाडौ‌ ।
पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो ।

ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरे । उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ ।

कतार विश्वकपमा आज चार खेल हुँदै कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।