ढाका। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्गलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न चार अर्ब ५० करोड अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता गरेको जनाएको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अन्य एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्गलादेश पनि प्रभावित भएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रले यस वर्षको सुरुमा आईएमएफसँग सहयोगका लागि सम्पर्क गरेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डल र ढाकाका प्रतिनिधिबीच बङ्गलादेशको आर्थिक नीतिलाई सहयोग गर्न कर्मचारीस्तरीय सम्झौता भएको र विभिन्न सुविधाअन्तर्गत कूल ४.५ अर्ब अमेरिकी डलर बराबरको सम्झौता भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणलाई आफ्नो विदेशी विनिमय सञ्चिति बढाउन प्रयोग गर्ने योजना बनाएको छ, जुन ४६ अर्ब डलरबाट ३४ अर्ब डलरमा झरेको छ ।

हालैका महिनाहरूमा बङ्गलादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ, जबकि आधिकारिक तथ्याङ्कअनुसार मुद्रास्फीति १० प्रतिशतको नजिक पुगेको छ । स्वतन्त्र अर्थशास्त्रीहरूले वास्तविक आँकडा २० प्रतिशतको नजिक रहेको बताएका छन् ।

आर्थिक सङ्कटका कारण घरायसी बजेटमा ठूलो असर परेको छ र सरकारले जनताको असन्तोषलाई दबाउन चामललगायत धेरै मुख्य खाद्य पदार्थको मूल्य निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ ।

आईएमएफका टिम लिडर राहुल आनन्दले भन्नुभयो, “युक्रेनमा रूसको युद्धका कारण महामारीबाट बङ्गलादेशको बलियो आर्थिक पुनरूत्थान अवरुद्ध भएको छ । जसले गर्दा चालू खाता घाटा तीव्र रूपमा बढेको छ, विदेशी मुद्रा सञ्चितिमा तीव्र गिरावट आएको छ, बढ्दो मुद्रास्फीति र सुस्त आथर््िक वृद्धि भएको छ ।

“बङ्गलादेशले यी तात्कालिक चुनौतीहरूको सामना गरिरहेको भए तापनि जलवायु परिवर्तनबाट समष्टिगत आर्थिक स्थिरताका लागि खतराहरूसहित लामो समयदेखिको संरचनात्मक मुद्दाहरूलाई सम्बोधन गर्नु महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।