काठमाडौं। कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो । 

विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले विश्वकपलाई सफल बनाउन जिम्मेवारपूर्वक सहयोग गर्न आग्रह गर्नुभयो । यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप एशिया क्षेत्रको कतारमा हुँदैछ । 

नेपालीले कतारको विकास तथा समृद्धिका लागि पु¥याएको योगदानको कतार सरकारका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरिरहेको भन्दै उहाँले दुवै मुलुकले अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणा राख्दै आएको स्मरण गर्नुभएको छ । राजदूत ढकालले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पु¥याउन सबैले सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।