कार्तिक। करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा मंगलबारदेखि चावहिल क्षेत्रमा सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत् गराएको विश्वास गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइन्छ । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ ।

पशुपतिनाथ अमालकोट कचहरिका द्वारे पूर्ण डङ्गोलले मंगलबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । पूर्णिमाका दिन बेलुकी मंगलबार मन्दिर परिसरमा धुनी जगाइने कार्यक्रम छ । 

धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् बुधबार बिहान श्री चन्द्रविनायक र श्री भैरवनाथको खट उठाइने जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिनुभयो । “जात्राको दोस्रो दिन बुधबार गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, भटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा, लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ”–उहाँले भन्नुभयो ।

यसैगरी बुधबार श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् बिहीबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने गरिएको जात्रा समितिले जनाएको छ । बेलुकी भने चारुमती बहालमै रथ नचाइ टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ । 

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा शनिबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।