काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिका–१२ का शिक्षिका तथा समाजसेवी सुशीला शर्माले आज बेसहाराहरूको उद्धार तथा संरक्षण गर्दै आएको मानवसेवा आश्रमको एक कोठा भवन निर्माणका लागि आवश्यक पर्ने रकम सहयोग गर्नुभएको छ ।

विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत आश्रमले गरेको मानवीय कामबारे जानकारी पाएपछि आज उहाँले आश्रम खोज्दै आएर रकम हस्तान्तरण गर्नुभएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

“एक कोठा निर्माणका लागि भन्दै आर्थिक सहयोग गरेर जानुभयो”, अध्यक्ष अधिकारीले भन्नुभयो, “उहाँको योगदानले आश्रमलाई हौसला मिलेको छ ।” एक कोठा निर्माणका लागि मात्रै रु पाँचदेखि छ लाख लाग्छ । शर्माबाट प्राप्त रकम नेपालगञ्जको भवन निर्माणमा लगानी गरिने आश्रमले जनाएको छ ।

आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरी पालनपोषण तथा परिवारमा पुनःमिलन गराउने कार्यमा सक्रिय छ । उहाँका अनुसार आश्रमले देशका विभिन्न जिल्लाका १९ शाखामा असहाय तथा बेसहाराहरूका लागि भवन निर्माणको काम जारी छ । विभिन्न परोपकारी मानिसहरूबाट सहयोग जुटाउँदै अहिले भवन निर्माण भइरहेको छ ।

भवन निर्माण सम्पन्न गर्न मुलुकका विभिन्न १० सहरमा मङ्सिर र पुसमा नेपथ्य व्याण्डसँगको सहकार्यमा सङ्गीतयात्रा (कन्सर्ट) हुँदैछ । विसं २०६९ मा स्थापना गरिएको आश्रमले अहिलेसम्म सात हजार बढीको उद्धार गरिएकामा झण्डै तीन हजारलाई परिवारमा पुनःमिलन गराइसकिएको छ । अहिले एक हजार चार सय बढी आश्रित छन् ।