वासिङ्टन। भारतको पश्चिमी राज्य गुजरातको मोर्बीमा झोलुङ्गे पुल भत्किँदा भएको अकल्पनीय मानवीय क्षतिप्रति विश्व नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो , जापानका प्रधानमन्त्री फुमियो किसिदा, पोल्याण्डका प्रधानमन्त्री मेटुझ मोरावियेकी,  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनर अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङले भारत सरकार, त्यहाँका जनताप्रति समवेदना व्यक्त गर्नुभएको हो । उक्त घटनाबाट आफूहरू स्तब्ध भएको बताउँदै उहाँहरूले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँहरू घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । 

आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी हराइरहेका छन् । छट पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी आज घटनाबारे जानकारी लिन मोर्वी जाने कार्यक्रम छ । सोमबार सम्बद्ध अधिकारीसँग उहाँले उक्त घटनाका सम्बन्धमा छलफल एवम् समीक्षा गर्नुभएको छ । समीक्षा बैठकले दुर्घटनामा मारिएकाको सम्झनामा भोली राजकीय शोक मनाउने निर्णय गरेको छ । 

यसैबीच, पुल मर्मतको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका छन् ।